जनकपुरधाम, चैत ३ गते । एक महिनादेखि जयनगर–जनकपुर नियमित चलिरहेको रेल अब महिनामा १५ दिन मात्र चल्ने भएको छ । एक महिनादेखि यात्रुबिना नियमित सञ्चालित रेल होलीपछी महिनाको १५ दिन मात्र चलाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँले ड्राईरन सफल भएपनि उदघाटन मिति भने अझैं टुङ्गो लाग्न नसकेको बताउनुभयो ।
रेल सञ्चालनका लागि कम्पनीको तर्फबाट सम्पूर्ण तयारी भइसकेको भएपनि कानुन अभाव भएका कारण यात्रुसहितको रेल सञ्चालन हुन नसकेको महाप्रबन्धक झाले बताउनुभयो । “प्राविधिक रूपमा सबै तयारी भइसकेको छ, कर्मचारी पनि नियुक्ती भएर काममा खटिसकेका छन्, भाडादर पनि निर्धारण भइसकेको छ । कानुन अभावमा औपचारिक रुपमा रेल सञ्चालन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।
महाप्रबन्धक झाले भन्नुभयो, ‘नेपालका ५८ जना र भारतका १६ जना कर्मचारी नियमित खटिरहेका छन्, उनीहरुलाई अहिलेसम्म पारिश्रमिक उपलब्ध नगराएका कारण महिनामा कति खर्च भइरहेको छ भन्ने अनुमान लगाउन सकिएको छैन ।’ रेल सञ्चालनमा भने महिनामा २५ सय लिटर इन्धन खर्च भएको उहाँले बताउनुभयो ।
विभागले फागुन दोस्रो साता नै दुवै देशका प्रधानमन्त्रीबाट उदघाटन गराउने तयारी गरेपनि कानुन अभावमा रेल सञ्चालनमा ढिलाइ भएको भन्दै अब कुनै उपाय अपनाएर भएपनि रेल भने सञ्चालनमा ल्याउनु पर्ने महाप्रबन्धक झाको भनाई छ । फागुन १ गतेदेखि दैनिक एक पटक ओहोर दोहोर जयनगर–जनकपुर रेल गुडिरहेको रेल अब दिन बिराएर गुड्ने छ उहाँले भन्नुभयो ।
गत मंसिर १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेलवे सञ्चालनसम्बन्धी अध्यादेशको प्रस्ताव ल्याउनुभएको थियो । ६० दिनभित्र अध्यादेश सम्बन्धित मन्त्रीले सदनमा पेस गरिसक्नु पर्ने कानुनी प्रावधान छ । तर, सो अवधिमा सदनमा रेलवे अध्यादेश पेस नभएपछि स्वतः निष्क्रिय भएको थियो ।
२०७७ असोज २ गते भारतीय रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपियाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १३ सय यात्रु बोक्ने क्षमताका छन् । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ७० रूपियाँ र एसी सिटमा तीनसय रूपियाँ भाडा निर्धारण गरिएको छ ।
कमेन्ट गर्नुहोस्