काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन्।
प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताए। 'हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौं,' उनले भने, 'संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने। संसद्मा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी?'
अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए। उनले नेपाल न्यायको भूमि भए पनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे।
अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वच्छेचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताए। 'सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ। हाम्रो विधि कहाँ पुग्छ?,' उनले प्रश्न गरे।
उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढंगले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए।
कमेन्ट गर्नुहोस्