न्युयोर्कः अमेरिकाका करिब १ करोड २० लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन्। कोरोना महामारी सुरु भएदेखि हालसम्म सो संख्यामा अमेरिकी बालबालिका संक्रमित भएका हुन्।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन हस्पिटल एसोसियसनद्वारा हालै जारी संयुक्त रिपोर्टले सो तथ्यांक देखाएको हो। सो रिपोर्टअनुसार बिहीबारसम्म अमेरिकाभरि १ करोड २० लाख ४३ हजार बालबालिकामा कोरोना संक्रमण देखा परेको छ। कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनपछि अमेरिकामा बालबालिकामा संक्रमण तीव्र गतिमा फैलिएको समेत सो रिपोर्टले उल्लेख गरेको छ।
यद्यपि, कोरोना संक्रमणबाट बाल मृत्युदर भने कम रहेको बताइएको छ।
जनावरमा मेडिकल परीक्षण बन्द गर्ने पहिलो मुलुक बन्दै स्विजरल्याण्ड
जेनेभाः जनावरमा मेडिकल परीक्षण बन्द गर्नेमा स्विजरल्याण्ड संसारकै पहिलो मुलुक बन्ने भएको छ। विभिन्न अध्ययन अनुसन्धानका लागि जनावरमा गरिने मेडिकल परीक्षण बन्द गर्नेमा स्विजरल्याण्ड पहिलो मुलुक बन्ने भएको हो।
स्विजरल्याण्डका जनावर अधिकारकर्मी र त्यहाँका नागरिकले आगामी आइतबार जनावरमा मेडिकल परीक्षण बन्द गराउने सम्बन्धमा मतदान गर्दै छन्। यदि सो परीक्षण बन्द गराउने पक्षमा अत्यधिक मत प्राप्त भएमा स्विजरल्याण्डले जनावरको मेडिकल परीक्षणलाई बन्द गराउने छ। सोसँगै स्विजरल्याण्ड जनावरको मेडिकल परीक्षण बन्द गराउनेमा पहिलो मुलुक बन्ने अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
त्यहाँको सरकारी तथ्यांकअनुसार मेडिकल परीक्षणको नाममा सन् २०२० मा मात्र स्विजरल्याण्डले ५ लाख ५० हजारभन्दा बढी जीव जनावर गुमाएको थियो। जसमा सबैभन्दा बढी ४ लाख मुसा र खरायो, ५ हजार कुकुर, २ हजार बिरालो र करिब २ हजार घोडा मेडिकल एवं ल्याब परीक्षणको लागि मार्नु परेको थियो। विभिन्न परीक्षणका लागि गाई, सुँगुर, माछा र चराहरुसमेत मार्ने गरेको बताइएको छ। मेडिकल परीक्षणको नाममा हुने जीवजन्तु हत्या रोक्न सरकारले देशमा सो कानुन ल्याउने बताइएको छ।
उत्तर कोरियामा हरितगृह खेतीका लागि सैन्य आधार भत्काउन सुरु
प्योङयाङः उत्तर कोरियाले ठूलो संख्यामा सैन्य आधार शिविर भत्काउन सुरु गरेको छ। हरितगृह कृषि खेती (ग्रिनहाउस फार्म) निर्माणका लागि उत्तर कोरियाले वायु सेना आधार सिविर भत्काउन सुरु गरेको हो ।
उत्तर कोरियाले र्योन्फो वायु सेना शिविर क्षेत्रमा जनवरी अन्तिम सातादेखि वायु सेना आधार शिविर भत्काउन थालेको हो। करिब १ सय हेक्टर क्षेत्रफलमा फैलिएको सो शिविर भत्काएर हरितगृह खेती निर्माण गर्न त्यहाँको सरकारले निर्देशन दिएको बताइएको छ। सो परियोजना आगामी अक्टोबरसम्म निर्माण सम्पन्न हुने बताइएको छ।
उत्तर कोरियासँग सम्बन्धित समाचार प्रकाशित गर्ने मिडिया एनके प्रोमा बिहीबार सो समाचार प्रकाशित भएको छ। एन के प्रोले ताजा स्याटेलाइट तस्बिरको आधारमा सो समाचार तयार पारेको जनाएको छ।
भारतीय उद्योगपति बने एसियाकै धनाढ्य व्यक्ति
नयाँ दिल्लीः भारतीय उद्योगपति गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग अर्बपति सूचकांकको नयाँ सूचीअनुसार अडानी एसियाकै धनी व्यक्ति बनेका हुन्।
भारतीय अर्बपति अडानी एक उद्योगपति हुन्। उनी भारतको अहमदावादस्थित बहुराष्ट्रिय कम्पनी अडानी समूहका संस्थापक र अध्यक्ष हुन्। ५८ वर्षीय अडानीको कुल आम्दानी ८८.५ बिलियन डलर पुगेको छ।
ब्लुमवर्गले उनीसहित एसियाका १० धनी व्यक्तिको सूची तयार पारेको छ। १० धनी व्यक्तिको सो सूचीमा क्रमशः मुकेश धिरुभाई अम्बानी, झोङ शान्शान, झाङ यिमिङ, जेङ युकुन, मा ह्वाटेङ, ज्याक मा, लि का सिङ, लि शाउ कि, हे सिन्जियानको नाम सूचीकृत छ।
महामारीमा बेलायतको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै उच्च
लण्डनः कोभिड-१९ महामारीबीच सन् २०२१ मा बेलायतको अर्थतन्त्र बढेको छ। सन् २०२१ बेलायतको अर्थतन्त्र ७.१ अंकले बढेको हो।
गएको वर्ष बढेको सो अर्थतन्त्र दोस्रो विश्व युद्धपछिकै उच्च रहेको त्यहाँको राष्ट्रिय तथ्यांक विभागले शुक्रबार बताएको छ। बेलायतको बैंक अफ इंग्लयाण्डले सन् १९४८ देखि अर्थतन्त्रको तथ्यांक राख्न सुरु गरेयताकै उच्च भएको बताइएको छ। सन् २०२० मा ९.४ अंकले झरेको त्यहाँको अर्थतन्त्र सन् २०२१ मा ७.५ प्रतिशतले बढेको बताइएको छ।
कोभिड नाकाबन्दी अन्त्य गर्न क्यानडा र अमेरिकाले मिलेर काम गर्दै
ओट्वाः क्यानडेली सरकारको कोभिड प्रतिबन्ध र खोप म्यान्डेटविरुद्ध क्यानडाका ट्रक चालकद्धारा जारी प्रदर्शन, नाकाबन्दी र हडताल अन्त्य गर्न क्यानडा र अमेरिका सरकार एकसाथ जुटेका छन्। ट्रक चालकद्वारा जारी करिब दुई हप्ता लामो सो प्रदर्शन, नाकाबन्दी र हड्ताल अन्त्य गर्न यतिबेला अमेरिका र क्यानडा सरकार एकसाथ जुटेका हुन्।
सरकारले जारी गरेको कोभिड-१९ खोप र प्रतिबन्धविरुद्ध त्यहाँका ट्रक चालकले क्यानडाको राजधानी ओट्वाबाट सो प्रदर्शन सुरु गरेका थिए। पछिल्लो समय सो प्रदर्शनले चरम रुप लिएको थियो। पछिल्लो समय ट्रक चालकले अमेरिका र क्यानडाको सीमा जोड्ने पुलमा ट्रक रोकेर नाकाबन्दी समेत गरेका छन्। राजधानी ओट्वामा मात्र नभई क्यानडाका अन्य प्रान्तहरुमा समेत उनीहरुले विरोध चर्काएका छन्।
सो विरोध अन्त्य गर्न क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार अमेरिकी सरकारका अधिकारी भेट्न बिहीबार वासिङ्टन पुगेका थिए। क्यानडेली र अमेरिकी सरकारका अधिकारीबीच भएको भेटपछि दुवै मुलुकले सो विरोध अन्त्य गर्न एकसाथ काम गर्ने बताएका हुन्।
चीनद्वारा लिथुआनियाको मासु, दुग्ध र वियर आयातमा रोक
बेइजिङः चीन सरकारले लिथुआनियाबाट आयात हुने गाईको मासु, दुग्ध पदार्थ र वियरमा रोक लगाएको छ। ताइवानको विवादका कारण सरकारले ती आयातित पदार्थमा रोक लगाएको हो।
बाल्टिक मुलुक लिथुआनियाले ताइवानसँग सम्बन्ध बढाएको निहुँमा चीनले सो निर्णय गरेको बताइएको छ। यद्यपि, चीनको भन्सार तथा प्रसाशन विभागले भने कागजपत्र अभावका कारण ती पदार्थ आयातमा रोक लगाएको बताएको छ।
ताइवानले लिथुआनियामा आफ्नो दी फ्याक्टो दूतावास खोलेपछि चीनले ती पदार्थमा रोक लगाएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। ताइवानले लिथुवानियासँग कूटनीतिक सम्बन्ध बढाएपछि चीन दुवै मुलुकसँग चिढिएको छ। चीनले संसारका अन्य मुलुकभन्दा बढी लिथुनियाबाट गाईको मासु आयात गर्ने गर्छ।
मेक्सिकोमा एक महिना नबित्दै पाँचौं पत्रकारको हत्या
मेक्सिको सिटी: मेक्सिकोमा एक महिना नबित्दै पाँचौ पत्रकारको हत्या भएको छ। स्टुडियोमा रेकर्डिङ गरिरहेका अनलाइन समाचार पोर्टल नोटिसियाका पत्रकार हेबर लोपेज भाज्किजको हत्या भएको हो।
मेक्सिकोको ओसाका राज्यमा उनको हत्या भएको शुक्रबार प्रकाशित रोयटर्समा खबर छ।
पछिल्लो समय मेक्सिोकामा पत्रकारमाथि हुने आक्रमणका घटना बढेका छन्। यही जनवरी अन्तिमतिरमात्र तीन पत्रकार र एक मिडियाकर्मीसहित चार जनाको हत्या भएको थियो। लोपेजको हत्यासँगै एक महिना नबित्दै पाँच पत्रकारको हत्या भएको बताइएको छ।
एचआईभी भाइरस पत्ता लगाउने व्यक्तिको निधन
पेरिसः एचआईभी एड्स भाइसर पत्ता लगाउने सह आविष्कारक व्यक्तिको निधन भएको छ। एचआइभी भाइरसका सह आविष्कारक एवं फ्रान्सेली भाइरोलोजिस्ट लुक मोनटेग्नियरको ८९ वर्षको उमेरमा निधन भएको हो।
उनको निधन गएको मंगलबार भए पनि स्थानीय समाचारले मृत्युबारे बिहीबारमात्र खबर प्रकाशित गरेका छन्। उनले भाइरसबारे सन् १९८० को दशकदेखि काम सुरु गरेका थिए।
एचआइभी भाइरसका कारण एड्स नामक दीर्घकालीन रोग सर्ने पत्ता लगाएको भन्दै उनलाई सन् २००८ मा नोबल पुरस्कार प्रदान गरिएको थियो। त्यसपश्चात मात्र उनी संसारमा परिचित बनेका थिए। यद्यपि, कोभिड-१९ प्रति अवैज्ञानिक दाबी गरेको भन्दै पछिल्लो समय उनको आलोचना समेत हुदै आएको थियो।
कमेन्ट गर्नुहोस्