अहिलेको भेरियन्ट ओमिक्रोन मात्रै हो भन्ने अवस्था छैन। हामीकहाँ दुईवटै भेरियन्ट सक्रिय छन्, ओमिक्रोन र डेल्टा भेरियन्ट। पहिलो पटक कोरोना आउँदा हामी कसैलाई कुनै पनि ज्ञान थिएन। संसारभरि उत्पात मच्चाएको थियो। त्यो बेलामा हामीले घरभित्र लुकेर भए पनि बच्ने प्रयास गर्यौं। त्यसलाई लकडाउनको नाम दियौं। त्यसबेला हामीलाई कुन औषधिले काम गर्छ ? केले गर्दैन ? के खानुपर्छ ? केही थाहा थिएन। त्यसैले लकडाउन, हात धुने र मास्क लगाउने उपाय मात्र थियो।
संसारभरि नै एक किसिमको डर त्रास थियो। त्यो जायज पनि थियो। त्यसपछि दुई स्तरमा काम हुन थाल्यो। पहिलो आएका बिरामीलाई हेर्ने, अस्पतालमा उपचार गर्ने गरी स्वास्थ्यकर्मीहरू लागे। दोस्रो, वैज्ञानिकहरू अनुसन्धान गरेर सूई बनाउनतिर लागे। त्यो सूई बनाउन लागेको थोरै अवधिमा सफलता हात पारे। त्यसपछि यो भाइरसले कस्तो व्यवहार गर्छ ? केके लक्षण देखाउँछ, केके जटिलता ल्याउँछ त भन्ने कुरामा जसरी नयाँ केस आउँदै गए। उनीहरू निको हुँदै गए। कोही निको भएनन् पनि। यी तथ्यका आधारमा थप अध्ययन पनि हुँदै गयो। धेरै औषधिमा अध्ययन भयो। एन्टिबडी बनाइयो। रेम्डिसिभिरहरू पनि आए। त्यसमा सबैभन्दा धेरै मृत्यु केमा देखियो भने जसलाई कोभिडको निमोनिया भयो। त्यो पनि सिकाइ भयो। अब त्यसको निदान पत्ता लागिसकेको छ।
अब अहिलेको अवस्था त्योभन्दा नितान्त फरक छ। पहिले बच्ने उपाय दुईवटा मात्र थिए, एउटा घरभित्र बस, अर्को मास्क लगाऊ। साबुनपानीले हात धोऊ र दूरी पनि कायम गर। अब हामीसँग सूई पनि छ। यो अनुसन्धानबाट प्रमाणित भइसकेको कुरा हो। सूई जसले लगाइसकेको छ। तिनीहरूमा रोग धेरै गम्भीर हुन पाउँदैन, यो अनुसन्धानले देखाइसकेको छ। यो अवस्थामा मान्छेलाई दुई वटा कन्फ्युजन भयो। एउटा, मैले खोप लगाइसकें। मलाई केही हुँदैन भन्ने। यो गलत हो। खोप लगाइसकेका मान्छेलाई कोरोना नलाग्ने होइन। खोपले बनाएको एन्टिबडीले गर्दा भाइरस र मान्छेबीचको लडाइँमा मान्छेले जित्छ। भाइरस पराजित हुन्छ। उसले सतर्कता अपनाएन भने अर्कालाई सार्न सक्छ। तर, उसलाई धेरै असर गर्दैन।
यसरी हेर्दा सूईले मान्छेलाई एक प्रकारले जीवनदान दियो। तर, अर्को समूहमा मान्छे यस्ता छन्, जसले सूई लगाएका छैनन्। लगाउन चाहिरहेका छैनन्। अटेरी गरिराखेका छन्। नेपालमा मात्र होइन, यो संसारभरि छ। त्यस्ता मान्छेलाई संक्रमण हुँदा अहिले पनि गम्भीर हुने डर छ। केही देशहरूले सूई अनिवार्य गरेका छन्। डेल्टा भेरियन्ट आएको बेला हाम्रो स्वास्थ्य प्रणालीले त्यसलाई धान्न सकेन। डेल्टाको समयमा निमोनिया बढी हुन्थ्यो। निमोनियालाई आईसीयू बेड र अक्सिजन चाहिने हुन्थ्यो। यो कसैले नचिताएजस्तो गरी आएकाले मृत्यु बढी भयो। तर, अहिलेको तथ्यांक हेर्दा संक्रमण दर संसारभरि नै पहिलेभन्दा बढेको छ। छिमेकी देश भारतमा पाँच हजारमा झरेको दैनिक संक्रमण तीन लाख पुगेको छ। नेपालमा दुई सयमा झरेको थियो। अहिले १० हजारभन्दा माथि छ।
तर, यो अनुपातमा गम्भीर बिरामीको संख्या बढेको छैन। अनि अहिलेको सबै पोजेटिभ केस ओमिक्रोन होइन। मान्छेमा यो ओमिक्रोन त हो नि सामान्य छ भन्ने भ्रम छ, यसलाई चिर्न जरुरी छ। किनभने हामीले पीसीआर पोजेटिभ मात्र भनेका छौं, त्यो ओमिक्रोन हो कि, डेल्टा भनेर छुट्ट्याएका छैनौं। भारतमा दैनिक संक्रमणमध्ये हजारौंमा मात्रै ओमिक्रोन छ। बाँकी डेल्टा नै छ। यहाँ बुझ्नुपर्ने कुरा के हो भने जसलाई ओमिक्रोन भयो त्यो सामान्य भइहाल्यो। यसले तीव्र फैलाउँछ मात्रै। पाँच दिन रुघा लागेर ठिक भइहाल्छ। तर, डेल्टा त पहिले पनि थियो। जसले पहिले धेरैको ज्यान लिएको हो। अहिले किन यसले गम्भीर बनाएको छैन भने यो सूईको कारणले गर्दा हो। सूईले काम गरेर हो। अहिले जसले सूई लगाएको छ, उसलाई अप्ठ्यारो पारेको छैन। जसले लगाएको छैन, उसलाई ओमिक्रोन छ भने त ठीक होला। डेल्टा भयो भने गम्भीर हुन सक्छ। त्यसैले अहिले के भयो भने। जुन देशले ७० प्रतिशतमाथि जनतालाई खोप लगाइसक्यो। ऊ राजा जस्तो भयो। उसले सबै खुला गर्न थालिसक्यो। बेलायत, स्विडेनले सबै खुला गरेको छ। थाइल्यान्डले आगामी महिनादेखि खुला गर्ने भनेको छ। यसको एउटै कारण खोप हो।
स्थानीय सरकारलाई परिचालन गरेर वडावडामा कोरोनाविरुद्ध खोप लगाउनुपर्छ। त्यसबाहेक, मास्क लगाउने र हात धुने नै उपयुक्त उपाय हुन्।
नेपालमा पछिल्लो हप्तादेखि एउटा त्रास फैलिएको छ, सिटामोल पनि नपाउने। संक्रमणदर ह्वात्तै बढेको छ। शनिबार त मृत्यु पनि भयो। यसैले त्रास पनि बढाएको हो। त्यसैले अब हामीले खोप लगाउने वातावरण सहज बनाउनुपर्छ। लकडाउन, जोरबिजोर यी विकल्प होइनन्। यी पुराना भइसके। अहिलेको विकल्प भनेको खोप हो। तर, यसमा हामी चुकिरहेका छौं। कसरी चुकिरहेका छौं भने, हामीसँग खोप पर्याप्त हुँदा पनि लगाउने वातावरण बनाउन सकेनौं। जस्तोः अहिले काठमाडौंमा बुस्टर डोज दिने भनेर १९ ठाउँ तोकेको छ। त्यहाँ खोप लगाउनेको भीड थामिसक्नु छैन।
धेरै मानिस लगाउनुभन्दा नलगाउनु जाति भनेर फर्कने अवस्था छ। यो सरकारको कमजोरी हो। यसलाई सहज बनाउनुपर्छ। जो जतिबेला गए पनि खोप लगाउनुपर्छ। केही देशले त फार्मेसीमै खोप दिइसकेका छन्। खोप लगाउन डाक्टरहरू नै चाहिन्छ भन्ने छैन। नर्सहरूले लगाउन सक्छन्। अनलाइन गर्न समस्या हुनेलाई रजिस्टरमै गरे पनि हुन्छ। सरकारको प्राथमिकता जसरी भए पनि आफ्ना नागरिकलाई खोप दिने हुनुपर्छ। विभिन्न कारणले खोप कार्यक्रम चुस्त हुन नसकेको हो। एउटा व्यवस्थापकीय कमजोरी, यसको पहिलो कारण संघीय सरकार हो। स्थानीय सरकारलाई अधिकार नदिइकन हुँदैन। ज्ञान, जनशक्ति संघीय सरकारसँग छ। तर, कार्यान्वयन गर्ने धरातलीय पूर्वाधारहरू भने स्थानीय सरकारसँग छ। त्यसैले स्थानीय सरकारलाई परिचालन गरेर वडावडामा कोरोनाविरुद्धको खोप लगाउनुपर्छ। यसरी मात्र खोप कार्यक्रम प्रभावकारी हुनसक्छ। त्यसबाहेक, मास्क लगाउने र हात धुने नै उपयुक्त उपाय हुन्। यो बाहेक अरू छैन। अब पहिले जस्तो कन्ट्र्याक ट्रेसिङ र लकडाउन गरेर केही हुनेवाला छैन।
गम्भीर केस बढ्न थाल्यो भने सरकारले के गर्नुपर्छ भन्ने कुरा आउँछ। दोस्रो, लहरले भूकम्प नै ल्यायो। जुन पहिलो लहरमा थिएन। डेल्टाले किन भूकम्प ल्यायो भने उसले अक्सिजनको माग बढायो। आईसीयू र भेन्टिलेटरको माग बढायो। जुन हामीसँग पर्याप्त थिएन। त्यसैले धेरै मृत्यु भयो। त्यसबेला अनुसन्धान पनि आइसकेको थिएन, कुन औषधिले काम गर्छ भनेर। तर, यो लहरसम्म आइपुग्दा धेरै कुरा थाहा भइसकेको छ। एउटा स्टरहट, अर्को रगत पातलो गर्ने औषधि र अक्सिजन। यो तीनवटा कुरा भएको खण्डमा धेरै मान्छेलाई बचाउन सकिन्छ। सरकारले यसको पर्याप्ततामा ध्यान दिनुपर्छ। जति माग बढेपछि उपलब्ध गराउन सक्नेगरी तयारी गर्नुपर्छ। दोस्रो लहरपछि जिल्ला जिल्लामा अक्सिजन प्लान्टहरू स्थापना भएका छन्। अरू धेरै पूर्वाधार पनि बनेका छन्। यो सकारात्मक पक्ष हो।
त्यसैले अब हामी धेरै आत्तिनुपर्ने अवस्था भने छैन। सञ्चारमाध्यमले पनि नागरिकमा त्रास मात्र फैलाउने काम गर्नु हँुदैन। सकारात्मक ऊर्जा भर्ने सन्देश पनि दिनुपर्छ। खोप लगाएको खण्डमा हामीलाई यो रोगले केही गर्न सक्दैन। तर, पनि जसलाई ओमिक्रोन भएको छ। उसलाई चाहिने माथिका औषधिहरू छन्, त्यसको जगेडा गरेर राख्नुपर्छ। त्यसका लागि सरकारले तुरुन्त तयारी थाल्नुपर्छ। नीति निर्माताहरू हामी नै जान्ने हौं भनेर व्यवस्थापनमा चुक्दा अहिले खोप सहज भएको छैन यसलाई सुधार गर्नुपर्छ। खाली विश्व स्वास्थ्य संगठनलाई तथ्यांंक देखाउन मात्र लागे। त्यसैले हाम्रोमा गम्भीरता र जवाफदेहिताको कमी छ। जस्तो ः स्थानीय सरकार भन्छन्, संघले हामीलाई सोधेन। हाम्रो मतलव गरेन। सूई त संघीय सरकारसँग छ। स्थानीय सरकारसँग त छैन। त्यसैले संघले प्रदेश र स्थानीय सरकारलाई चलायमान बनाउनुपर्छ। उनीहरूलाई भूमिका दिनुपर्छ। अर्को समस्या हाम्रो राजनीतिको पनि हो। सरकारमा भएको दललाई विपक्षीले असहयोग गर्ने परम्परा छ, त्यो एकदमै गलत हो।
जनताका लागि सबै एकजुट हुनुपर्छ। सरकारले नागरिकका घरघरमा गएर खोप लगाई दिनुपर्छ। खोप नै सबैभन्दा प्रभावकारी औषधि हो भनेर धेरै अनुसन्धानले प्रमाणित गरिसकेका छन्। यसलाई सबै तहका सरकारले प्राथमिकतामा राख्नुपर्छ। खोप लगाउने बुथ बढाउनु पर्यो। शुल्क तिर्न सक्नेका लागि तिरेर लगाउने व्यवस्था पनि गर्नुपर्छ। कोही म लाइन बस्दिनँ, पैसा तिरेर लगाउँछु भन्यो भने उसले त्यो पनि पाउनुपर्छ। सरकारले सर्वसुलभ रूपमा सूईको व्यवस्थापन गर्नुपर्छ।
निजी क्षेत्रलाई पनि लगाउन दिनुपर्छ। नागरिकले तोकिएको ठाउँमा गएर अनिवार्य सूई लगाउनुपर्छ। यहाँ ओमिक्रोन मात्र छैन। डेल्टा पनि छ। त्यसैले नागरिकले आफ्नो स्वास्थ्यको आफैं ख्याल गर्ने हो। कसैको भर परेर वा हल्लाको पछि लागेर हुँदैन। लकडाउन, जोरबिजोर गर्ने विषयमा मेरो जोड छैन। किनभने यो सम्भव नै छैन। त्यसैले प्रधानमन्त्रीले सुरुमा भनेकै कुरा दोहोर्याउँछु, खोप, खोप, खोप।
कमेन्ट गर्नुहोस्