पोखरा : पोखरा ३२ मालेपाटन र ढोडबेसीका किसान वर्षौंदेखि उखु खेती गर्दै आएका छन्। करिव २ सय वर्ष अघिदेखि नै यस क्षेत्रमा उखु खेती हुँदै आएको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद वाग्ले बताए।
स्थानीयको साथै मालेपाटन कृषि सहकारी संस्थाले पनि सामुहिक रुपमा दश रोपनी क्षेत्रफलमा उखु खेती गर्दै आएको छ। धान, मकै कोदो उत्पादनबाट लिनेभन्दा उखुबाट दोब्बर बढी फाइदा हुने भएकोले वर्षौंदेखि उखु खेतीतर्फ यहाँका किसान आकर्षित भएका वाग्लेले बताए।
मालेपाटन र ढोडबेसी दुबै ठाउँमा गरेर करिव १ सय ५० रोपनी क्षेत्रफलमा यहाँ उखु खेती हुँदै आएको छ। ३ सय रोपनीभन्दा बढी क्षेत्रफलमा उखु खेती हुँदै आएकोमा उखु खेतीमा विभिन्न किसीमका रोग लाग्नु र युवा शक्ति विदेश पलायन हुनु लगायतका कारण उखु खेती कम हुँदै गएको वाग्लेले सुनाए। पछिल्लो समयमा उखु खेतीमा किसानलाई आकर्षण गर्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको कृषि महाशाखाले आवश्यक सहयोग गर्दै आएको पोखरा महानगरपालिका ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले बताए।
किसानलाई उखु खेतीमा आकर्षण गर्न उखुमा लागेका रोगको उपचारको विषयमा परामर्श, औषधी उपचारमा सहयोग र खुदोको ब्राण्डिङमा आवश्यक सहयोग गरिने पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। यसकालागि पहिलो चरणमा यसै वर्षदेखि पोखरेली खुदोको रुपमा मालेपाटन र ढोडबेसीको खुदोलाई ब्राण्डीङ गरिने उनले सुनाए। मालेपाटनमा ६० लाखसम्मको खुदो र उखु बिक्री हुँदै आएको छ।
यहाँ पहिले चिनिया उखु, लोकल काठे उखु, गेवरा र काली उखु लगाउँदै अएकोमा अहिले भने काली उखु मात्र लगाउने गरिएको सहकारीका अध्यक्ष वाग्लेले बताए। सारै गुलियो र मिठो स्थानीय काठे उखु लोप भइसकेको पनि उलने सुनाए।
खुदो विवाह, ब्रतबन्धमा बनाइने कसार, अनरसा बनाउन बढी प्रयोग हुँदै आएको छ। यसै गरी माघे सक्रान्तिमा खुदो र चिउरा खाने चलन रहेको छ। चाम्रेमा पनि खुदो राखेर बनाउने चलन छ। उखु खेती आम्दानी लिने बेलामा भने झन्झटिलो हुने किसान बताउँछन्। बारीबाट उखु काट्ने, मसिनमा पेलेर उखुको रस निकाल्ने देखि भट्टीमा उखुको रस भकभकी उमालेर खुदो तयार पारिन्छ।
कमेन्ट गर्नुहोस्