गाउँखाने र दन्त्य कथा सुन्ने तथा सुनाउने मौलिक पर्वका रुपमा ‘पुसे १५’ सुदूरपश्चिममा धुमधामका साथ मनाइन थालिएको छ। पुस १५ गतेका दिनलाई डोटेली लोकसंस्कृतिमा पुसे १५ का रुपमा चिनिन्छ। पुस १५ गतेका दिन राति कथा तथा लोककथा सुन्दै र सुनाउँदै मीठा मसिना परिकार खाएर रातभर जाग्राम बस्ने गरिन्छ।
डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा पुसे १५ मनाउने गरिन्छ। यो पर्वमा दिनमाभन्दा रातिको समयमा एक ठाउँमा भेला भएर मीठो मिसानो खाँदै कथा तथा दन्त्य कथा सुनाउनुलाई विशेष महत्वका रुपमा लिने गरिएको संस्कृतिविद् डा. टीएन जोशी बताउँछन्।
पुसे १५ मा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने गरिएको बताउँदै जोशीले भने,‘यसबेला सेल पुरीका साथै डोटेली परिकार (भुनेरोटी, माणा,) लगायतका परिकार पकाएर खाने गरिन्छ।’ रातिको समयमा वृद्धवृद्धाबाट लोक कथा तथा दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको डोटेली संस्कृतिमा विद्यावारिधि गरेको डा. बद्री शर्मा बिनाडी बताउँछन्।
‘पुस १५ गतेको राति गाउँभरिका सबै एक ठाउँमा जम्मा भई ठूलठूला मुढाको आगो ताप्ने गरिन्छ,’उनले भने,‘आगो ताप्दै बातै (दन्त्य कथा) सुन्ने र सुनाउने प्रचलन पहिले देखिकै हो।’ पुसे १५ को रातिका लागि गृहिणीहरुले घरमा मीठा परिकार पकाउने तयारी गरिरहेको बताउँदै उनले भने,‘पुस १५ गतेको दिनभर गृहिणीहरुले मीठो मसिनो पकाउनका लागि तयारी गरिरहेका हुन्छन्, त्यो समय नै बेग्लै आनन्दको लाग्छ। डिसेम्बर २२ मा लामो रात हुने भए पनि सुदूरपश्चिममा पुस १५ गतेको रातलाई लामो रात भनेर रातभर जाग्राम गर्ने गरिएको उनी बताउँछन्।
राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजा, सौतेनी आमासँग सम्बन्धित दन्त्य कथा बढी प्रचलित रहेको बताउँदै उनले भने,‘यी कथा भन्दा तीन पुस्ताको रमाइलो जमघटसँगै सद्भावमय उल्लास हुने गर्छ।’ वृद्धवृद्धा अर्थात् बाजे बज्यैले सुनाउने र छोरा नाति सँगै बसेर सुन्ने भएकाले तीन पुस्ताको रमाइलो जमघटका रुपमा पनि लिने गरिएको उनले बताए। ‘तीन पुस्ता एकै ठाउँमा बस्दा त्यसले पारिवारिक रमाइलो हुनुका साथै आपसी सद्भाव जोड्ने गरिएको छ,’ उनले भने,‘यस्ता मौलिक पर्वले घर परिवारको आपसी वैमनश्यता हटाउँदै सद्भाव जोड्ने काम गरेका छन्।’
जति झै झगडा भए पनि पुसे १५ को रातमा गाउँभरिका सबै एकै ठाउँमा बसेर कथा सुन्ने भएकाले यसलाई सद्भावको पर्वका रुपमा पनि लिन सकिने उनी बताउँछन्। ‘एक आपसमा वैमनश्यता, रिसराग भए पनि सबै भुलाएर सबै एक ठाउँमा जम्मा भएकाले यो पर्वमा सामाजिक सद्भाव देखिएको छ ,’ उनले भने। अर्को अर्थमा पुस १५ को रातमा जाग्राम बस्नका लागि गाउँभरिका सबै एकै ठाउँमा जम्मा हुने र त्यहाँ विकास, सामाजिक, धार्मिक कार्य, संस्कृतिका बारेमा सरसल्लाह हुने भएकाले पनि यो पर्व सद्भावमय रहेको उनी अथ्र्याउँछन्।
कमेन्ट गर्नुहोस्