कलैया, पुस १ गते । महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयास गर्ने कार्यालय सहयोगी फरार भएका छन् । बाराको पचरौता नगरपालिकामा कार्यरत एक जना महिला कर्मचारी माथि कार्यालय सहयोगी एक पुरुषले बलात्कारको प्रयास गरेर फरार भएका हुन् ।
सोही पालिकामा उद्यम विकास सहजकर्ता पदमा काम गर्ने एक जना महिला कर्मचारीलाई सोही पालिकाका पुरुष कर्मचारीले जबरजस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।
गत मङ्सिर ९ गते बिहिबार दिउँसो साढे ३ बजे कार्यालयमै कार्यालय सहयोगी सोही वडा नम्बर–७ बेनौली टोल बस्ने ३२ बर्षे संजय पासवान हजरा दुषादले जवर्जस्ती गरेको प्रहरीको भनाई छ । नगरपालिकाको एक कर्मचारीले अर्का कर्मचारीमाथि जबरजस्ती प्रयास गर्नु गलत भएको अन्य कर्मचारीको भनाई छ । यद्यपि घटना मिलाउन पीडित महिलालाई दवाव सिर्जना गरिएको बताइएको छ ।
बालात्कार गर्न खोजने कार्यालय सहयोगी पासवानबिरुद्ध पीडितले मङ्सिर १४ गते प्रहरीमा जाहेरी दिएपछि पीडित महिलाको कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गरी जबरजस्ती करणी उद्योग मुद्दा अन्तर्गत आवश्यक प्रक्रिया अगाडि बढाइएको र फरार पासवानको खोजीकार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।
बारा जिल्लामा दिनप्रति दिन बलात्कारका घटना बढदैगएको छ । लकडाउनमा समेत बलात्कारका घटना बढेको प्रहरीको भनाई छ । चालु आर्थिक बर्षमा साउनदेखि यता प्रत्येक महिना एकदेखि चार वटासम्म बलात्कारको घटना दर्ता हुनेगरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दर्ता भएका घटनामध्ये १२ वटा जबरजस्ती करणी, ८ वटा जबरजस्ती करणी उद्योग र एक अप्राकृतिक मैथुनको घटना रहेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०७७–७८ मा जबरजस्ती करणी उद्योग र करणी भएका ४८ वटा बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको थिए ।
कमेन्ट गर्नुहोस्