काठमाडौँ — पार्टी सभापतिमा शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार छान्ने प्रतिस्पर्धी समूहको प्रयास कठिन मोडमा बल्झिएको छ । कांग्रेसका अग्रणी नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पारिवारिक उत्तराधिकारीहरू नेतृत्वका लागि आमनेसामने छन् । उनीहरूले आपसमा सहमति गर्न नसकेको र आफूलाई पनि नेतृत्वमा स्वीकार नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाटै अलग हुने चेतावनी दिएका छन् ।
पार्टी र सत्ताको केन्द्रमा रहेका देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि उनीविरुद्ध साझा उम्मेदवार बनाउन दबाब बढेको छ । साझा उम्मेदवार छान्न संस्थापनबाहेक सोमबार र मंगलबार दिनभर बैठक बसेका नेताहरूले आफ्ना शुभचिन्तकलाई शुभ समाचार सुनाउन सकेनन् ।
संस्थापनबाहेक समूहबाट साझा उम्मेदवार तय हुने वा नहुने आधारमा आफ्नो टिम घोषणा गर्ने रणनीतिमा देउवा छन् । देउवाले बुधबार बोलाएको आफ्नो समूहको बैठक ‘प्यानल घोषणा’ को गृहकार्यमा प्रवेश नगरी छलफलमा सीमित राखेका थिए । उता कृष्णप्रसाद सिटौला पनि आफैं उम्मेदवार दिने वा देउवासँगै मिल्ने भन्ने निर्णयमा पुग्न सकेका छैनन् ।
अघिल्लो दिन पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए । बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भए ।
‘शेरबहादुरबाट पार्टी चल्दैन, नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने मेरो मिसन हो । साथीहरूले मेरो कुरा बुझिदिनु भएन, आपसमा मिल्न पनि सक्नु भएन । मलाई स्विकार्नु पनि भएन । अब, मैले सकिनँ,’ बैठकमा पौडेलको भावुक अभिव्यक्ति उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अबदेखि म बैठकमा आउँदिनँ । महाधिवेशनमा पनि सहभागी हुन्न । पार्टीबाट अलग भएर घरमै बस्छु ।’ त्यसो भन्दा पौडेलका आँखामा आँसु रसाएको उनले बताए । पार्टीभित्रको अन्तरद्वन्द्वकै कारण जीवनको आखिरी पलमा गणेशमान पनि पार्टीबाट अलग बनेका थिए ।
रामशरण महतले प्रकाशमान र शेखरबीच एकले अर्कालाई नछाड्दा सहमति हुन नसकेको बताए । ‘दुई जनाबीच सहमति हुन सकेन भने पार्टीको वरिष्ठ नेता पनि भएकाले पौडेलजीलाई नेता मानेर जाऔं भन्ने साथीहरूको भनाइ थियो,’ उनले भने । ‘त्यसका लागि दुई जना तयार नभएपछि पौडेल भावुक हुनुभएको हो,’ महतले भने, ‘तर सहमतिको प्रयासमै छौं, भोलि (बिहीबार) सम्म प्रयत्न जारी राख्छौं ।’ शुक्रबार महाधिवेशन सुरु हुँदै छ ।
समूहनजिक रहेका जिल्ला सभापति, सभापतिका प्रत्याशी, प्रदेशका सभापति र प्रत्याशीहरूबाट राय लिन बुधबार बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफल भएको थियो । बैठकमा पौडेलबाहेक अरू आकांक्षी सहभागी भएनन् । प्रकाशमान र शेखरबीच को बलियो हुन सक्छ भन्ने परामर्श लिन बोलाइएको बैठकमा सहभागीहरूले चार जना आकांक्षी र केही नेता बसेर गरिने निर्णय मान्न नसकिने चेतावनी दिएका थिए । लगत्तै चाक्सीबारीमा आकांक्षीसहित नेताहरूको बैठक बसेको थियो ।
केहीछिन सामूहिक बसेपछि चार जना आकांक्षीबीच छुट्टै छलफल चल्यो । तर बैठकमा शेखरभन्दा पनि प्रकाशमानले बलियो अडान राखेका थिए । बीपीका पालादेखि नै गणेशमानले सधैं त्याग गर्दै आएको स्मरण गर्दै प्रकाशमानले आफू यसपालि भने पछाडि नहट्ने भनाइ राखेका थिए । ‘गणेशमानले सधैं बीपीका लागि त्याग गर्नुभयो । मैले पनि १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्रै लडेर रामचन्द्र दाइलाई छाडेको हो । जहिले पनि गणेशमानको परिवारले मात्रै त्याग गर्नुपर्छ भन्ने छ ? कोइराला परिवारले त्याग गरे हुन्न ?’ सिंहको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
घुमीफिरी आफूलाई उम्मेदवार बनाउन हुन्न भन्ने भनाइ मात्रै आएकाले सहमति हुने सम्भावना नदेखेको प्रकाशमानको भनाइ छ । बुधबार राति कान्तिपुरसँग उनले भने, ‘कसैको स्वार्थ मान्दिए राम्रो हुने, नमान्दिए ‘रिजिड’ भयो भन्ने प्रचार गलत छ । शेखरजी उमेरले दाइ हुनुहुन्छ । तर राजनीतिमा दाइ होइन । म विद्यार्थी कालदेखि नै संघर्ष गरेको, राज्य र पार्टीको उच्च पदमा बसेर अनुभव लिइसकेको व्यक्ति हुँ । शेखरजीसँग अनुभव छैन । उहाँले मलाई स्विकार्न किन नहुने ? मैले मात्रै छाड्नुपर्ने ?’ सिंहले भने, ‘अब सहमतिका लागि नबसौं, महाधिवेशन आइसक्यो । अब प्रतिस्पर्धामा जाऊँ । पहिलो चरणमा ‘रिजल्ट’ आएन भने पछि नै कुरा गरौंला, अब समय बर्बाद नगरौं भन्ने कुरा मैले राखेको छु ।’
पौडेल र शशांकले भने शेखर र प्रकाशमान मिले आफूहरूले स्विकार्ने अघिल्लो दिनकै सर्त दोहोर्याएका थिए । एकले अर्कालाई नछाड्ने स्थिति बनेमा पौडेलकै नाममा मिलनबिन्दु खोज्ने प्रयास पनि चल्यो । त्यसमा शेखरलाई केही नरम देखेपछि उत्साही बनेका पौडेलले बुधबार नै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै निवासमा पुगेर भेटेका थिए । तर प्रकाशमानले नछाडेपछि पौडेलको उत्साह लामो समय टिक्न सकेन । ‘दुई जनाबीच नै कुरा मिल्न सकेन । सबैलाई मान्य हुने गरी रामचन्द्र दाइलाई अघि बढाऊँ भनेर चार जनाबाट आएको स्थिति पनि छैन,’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘चार जनाबीच कुरा नमिलेपछि भावुक अभिव्यक्ति दिएर रामचन्द्र दाइ बाहिरिनुभयो । त्यसले हामी सबैलाई स्तब्ध बनाएको छ ।’ चाक्सीबारीबाट बाहिरिएका पौडेल कुनै पनि नेताको सम्पर्कमा आउन चाहेका छैनन् ।
पौडेल हिँडेपछि बैठक सकिएको थियो । अन्य केन्द्रीय सदस्यले भने चारै जना आकांक्षीलाई मिलाउने प्रयास जारी राख्ने बताएका छन् । नमिलेमा हस्तक्षेप गर्ने युवा नेताहरूको भनाइ छ । त्यो हस्तक्षेप कस्तो हुन्छ भन्ने प्रश्नमा परियारले भने, ‘हामी दस/पन्ध्र जना युवाहरू एक ठाउँमै रहन्छौं । चार जनामध्ये कसको नेतृत्वमा जाने हामी आफैं रोज्छौं ।’ युवा समूहमा गगन थापा, चन्द्र भण्डारी, दीपक गिरी, धनराज गुरुङ, गुरु घिमिरे, बद्री पाण्डे, जीवन परियार, सरिता प्रसाईं, रामकृष्ण यादवलगायत छन् ।
सिंहले भने आफूलाई बसाउने गरी कुनै सहमति मान्य नहुने प्रस्ट पारेका छन् । ‘म सधैं अन्यायमा पर्ने कुरा आउन्न, मलाई पनि न्याय हुनुपर्छ, मलाई नै छाड्ने गरी बनाइने समझदारीमा सहमति हुन्न, म अब कसैलाई छाड्दिनँ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्