५० भन्दा बढी जिल्लामा १२ सय प्रतिनिधि सर्वसम्मत, चार जिल्लामा आंशिक चुनाव, केही जिल्लामा आइतबार चयन हुँदै
स्थानीय अधिवेशनबाटै सर्वसम्मत नेतृत्व चयनको अभ्यास सुरु गरेको एमालेमा दशौँ महाधिवेशनका प्रतिनिधि चयनमा केन्द्रीयता हाबी भएको छ । पार्टी मूल नेतृत्वले समझदारीबाटै प्रतिनिधि चयनको निर्देशनात्मक सन्देश प्रवाह गरेपछि अधिकांश प्रतिनिधि सर्वसम्मत विधिबाटै छनोट भएका छन् ।
नवौँ महाधिवेशनमा तलैदेखि चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट र केन्द्रीय नेतृत्व चयन गरेको एमालेले दशौँ महाधिवेशनमा भने ठीकविपरीत चुनावी प्रतिस्पर्धालाई लगभग तलैदेखि ‘निषेध’ गर्दै सर्वसम्मत विधिबाट प्रतिनिधि चयन गरेको हो । शनिबार बिहान एमाले अध्यक्ष ओलीले समझदारीमै प्रतिनिधि चयनको निर्देशनात्मक सन्देश जारी गरेको थिए ।
महाधिवेशन प्रतिनिधि छनोट सुरु हुनुभन्दा केही घन्टाअघि भिडियो सम्बोधनमार्फत अध्यक्ष ओलीले देशभरको पार्टीपंक्तिलाई समझदारी गरेर सर्वसम्मत छनोट गर्न सन्देश दिएका थिए । दलभित्रको आपसी समझदारीलाई पार्टी एकताको सुदृढ आधारका रूपमा चित्रित गर्दै ओलीले प्रतिनिधि छनोट प्रक्रियामा मतदानलाई निरुत्साहित गर्ने कोसिस गरेका थिए ।
लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो,’ ओलीले भिडियो सम्बोधनमा भनेका थिए, ‘दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो, तसर्थ, म सम्पूर्ण पार्टी सदस्यहरूलाई उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनोट गर्न हार्दिक आह्वान गर्दछु ।’
वडा र पालिका अधिवेशनमा जस्तै प्रतिनिधि चयनमा पनि धेरै ठाउँमा सर्वसम्मत हुनुलाई एमालेकै नेताहरूले आश्चर्यका रूपमा हेरेका छन् । ‘यसअघिका महाधिवेशनमा हरेक ठाउँमा चुनाव हुन्थ्यो । आन्तरिक प्रतिस्पर्धाबाटै प्रतिनिधि चयन हुन्थे । तर, अहिले सबै ठाउँमा कसरी सर्वसम्मत भएको छ, मैले बुझ्न सकेको छैन,’ दशबुँदे सहमतिका पक्षधर नेता एवं उपमहासचिव घनश्याम भुसालले नयाँ पत्रिकासँग भने ।
केन्द्रीय सदस्य झपड रावलले पनि महाधिवेशन प्रतिनिधि चयनमा पार्टी सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमाले कैलालीमा अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग । कार्यकर्ताको चुन्ने–चुनिने सार्वभौम अधिकारको चीरहरण, जबजको उपहास ।’
असन्तुष्ट समूहका नेताहरूले ओलीले एमालेमा आन्तरिक लोकतन्त्रलाई रोक्न खोजेकोसमेत आरोप लगाएका छन् । ‘वडा होस् वा पालिका अधिवेशन वा अहिले महाधिवेशन प्रतिनिधि चयनमै किन नहोस्, सर्वसम्मत देखाएर आफू निर्विकल्प हुने रणनीतिअनुसार ओलीले काम गरेका छन्,’ असन्तुष्ट समूहका अर्का एक नेताले भने ।
भुसालको आशंका
वडा र पालिका अधिवेशनमा जस्तै प्रतिनिधि चयनमा पनि धेरै ठाउँमा सर्वसम्मत हुनुलाई एमालेकै नेताहरूले आश्चर्यका रूपमा हेरेका छन् । ‘यसअघिका महाधिवेशनमा हरेक ठाउँमा चुनाव हुन्थ्यो । आन्तरिक प्रतिस्पर्धाबाटै प्रतिनिधि चयन हुन्थे । तर, अहिले सबै ठाउँमा कसरी सर्वसम्मत भएको छ, मैले बुझ्न सकेको छैन,’ दशबुँदे सहमतिका पक्षधर नेता एवं उपमहासचिव घनश्याम भुसालले नयाँ पत्रिकासँग भने ।
विधान महाधिवेशनबाट पार्टीको कार्यदिशा र विधान पारित भइसकेकाले आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने दशौँ महाधिवेशनबाट पदाधिकारीसहितको केन्द्रीय नेतृत्व पनि सर्वसम्मत निर्वाचित गर्ने अध्यक्ष ओलीको योजना छ । दोस्रोपटक अध्यक्षको आकांक्षी ओलीले निकटस्थ नेताहरूमार्फत पदाधिकारीको सर्वसम्मतिका लागि समेत आन्तरिक गृहकार्य गरिरहेको उनीनिकट स्रोतले जनाएको छ ।
त्यसैको वार्मअपका लागि वडा, पालिका अधिवेशनपछि महाधिवेशन प्रतिनिधि सकभर सर्वसम्मत गर्न एमालेले आन्तरिक सर्कुलर गरेको थियो भने इन्चार्ज र सम्बन्धित कमिटीको नेतृत्वलाई पनि त्यस्तै निर्देशन दिइएको थियो । एमालेले शनिबार भूगोलका ७७ जिल्लामध्ये ५० भन्दा बढी जिल्लामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गरेको छ ।
नेताहरूका अनुसार जिल्ला कमिटी, सम्पर्क समन्वय र विशेष कमिटी तथा जनसंगठनबाट शनिबारै कम्तीमा १२ सय प्रतिनिधि निर्वाचित भएका छन् । केही जिल्लामा शनिबार प्रतिनिधि चयन प्रक्रिया सुरु भए पनि टुंगिन बाँकी छ ।
छनोट सकिएपछि ३० कात्तिकभित्र प्रतिनिधिको रेकर्ड संगठन विभागमा पठाइसक्न एमालेको निर्देशन छ । महाधिवेशनका लागि पदेन, निर्वाचित र मनोनीत गरी एक हजार नौ सय ९९ प्रतिनिधि चयन हुँदै छन् । प्रतिनिधिले १०–१२ मंसिरसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनबाट १५ पदाधिकारीसहितको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।
कुन प्रदेशमा के भयो ?
प्रदेश १ : प्रदेश १ का १४ जिल्लामध्ये शनिबार भएको प्रतिनिधि छनोटमा झापाका पाँच निर्वाचन क्षेत्रमध्ये ३ र ४ मा व्यक्तिगत प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट भएको छ । त्यस्तै, उदयपुर– १ मा पनि चुनावी प्रक्रियाबाटै प्रतिनिधि छनोट भएका छन् । इलाम, ताप्लेजुङ, संखुवासभा ओखलढुंगामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन् । त्यस्तै, मोरङको सातवटा क्षेत्रमध्ये ६ बाहेक सबैमा सर्वसम्मत चुनिएका छन् । धनकुटा र खोटाङमा सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास जारी रहेको तथा तेह्रथुम र सोलुखम्बुले छिट्टै चुनावी प्रक्रिया अगाडि बढाउन लागेको प्रदेश अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । सुनसरीमा भने जिल्ला अध्यक्ष चयनलाई लिएर देखिएको विवादका कारण २९ कात्तिकमा मात्र प्रतिनिधि छनोट गर्ने तयारी छ ।
प्रदेश २ : प्रदेश २ का तीन जिल्लामा समयमै सदस्यता नवीकरण सम्पन्न नभएका कारण प्रतिनिधि छनोट लम्बिएको छ । सिराहामा सदस्यता नवीकरणको काम टुंग्याएर २९ कात्तिकमा प्रतिनिधि छनोटका लागि निर्वाचन तोकिएको प्रदेशका सहइन्चार्ज लीलानाथ श्रेष्ठले बताए ।
रौतहटमा पूर्वमाओवादी समूहले पार्टी एकतापछि आएका सदस्य सबैको नवीकरण टुंग्याउन ढिलाइ गरेको र सर्लाहीमा पनि समयमै सदस्यता नवीकरण नटुंगिएकाले प्रतिनिधि छनोट लम्बिएको छ । तर, सप्तरी, बारा, पर्सा, महोत्तरी र धनुषामा भने शनिबारै प्रतिनिधि छनोट सम्पन्न भएको पनि श्रेष्ठले जानकारी दिए ।
बागमती : बागमती प्रदेशको १३ मध्ये ११ जिल्लामा शनिबारै प्रतिनिधि चुनिएका छन् । ललितपुरको ३ नम्बर क्षेत्रमा बाहेक शनिबार सम्पन्न सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चुनिएको प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए । काभ्रे, भक्तपुर २ र काठमाडौंका केही निर्वाचन क्षेत्रमा सहमतिमै प्रतिनिधि चुन्ने प्रयास जारी छ ।
चितवनमा भने स्थानीय कमिटीहरू महाधिवेशनको व्यवस्थापनसम्बन्धी तयारीमा पनि जुटिरहेकाले आइतबार मात्रै प्रतिनिधि छनोट गर्ने तयारी छ । बागमतीमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौं जिल्लाबाट ४५ जना छनोट हुँदै छन् ।
गण्डकी : गण्डकी प्रदेशका ११ मध्ये सात जिल्लामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन् । प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२ जना, मुस्ताङमा चार, म्याग्दीमा नौ, बाग्लुङमा १२, कास्कीमा ३०, लमजुङमा ११, गोर्खामा १५ र मनाङमा चारजनासहित ९७ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । तनहुँ, स्याङ्जा, पर्वत र पूर्वी नवलपरासी (नवलपुर)मा पनि सर्वसम्मत प्रतिनिधि छनोट हुने उनले बताए ।
कर्णाली : कर्णालीका दशमध्ये सात जिल्लामा शनिबारै सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । कालिकोटमा १५, डोल्पामा १०, हुम्लामा १०, रुकुम पश्चिममा सात, जाजरकोटमा नौ, जुम्लामा सात र सल्यानमा आठसहित ७३ जना प्रतिनिधि सर्वसम्मत छनोट भएको र सुर्खेत, दैलेख– २ र मुगुमा राति अबेरसम्म सर्वसम्मतिका लागि कोसिस भइरहेको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले बताए । दैलेख– १ मा भने १० जना प्रतिनिधि निर्वाचित भएका छन् ।
लुम्बिनी : लुम्बिनीका १२ जिल्लामध्ये सबै जिल्लामा शनिबारै प्रतिनिधि छनोट भएका छन् । तीमध्ये पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्र र रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये एक नम्बरमा मात्र निर्वाचन भएको छ । रोल्पा, पूर्वी रुकुम, बाँके, बर्दिया, दाङ, प्युठान, अर्घखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु तथा रुपन्देहीको १ नम्बरबाहेकका चारवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका नौमध्ये तीन जिल्लामा शनिबारै सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । कैलालीको ५ नम्बर क्षेत्रमा सर्वसम्मत भएको छ भने बाँकी निर्वाचन क्षेत्रमा पनि सहमतिकै कोसिस जारी रहेको प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।
ओलीको जिल्लामा चुनाव
शनिबार अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको ३ र ४, उपत्यकामा ललितपुर– ३, रुपन्देहीको क्षेत्र नम्बर १, उदयपुर– १ र पश्चिम नवलपरासीका दुईसहित सातवटा निर्वाचन क्षेत्रमा मात्र चुनावी प्रक्रियाबाट प्रतिनिधि छनोट भएका छन् । चुनाव भएका निर्वाचन क्षेत्रमा पनि अन्तिमसम्म कोसिस गर्दागर्दै व्यक्तिगत प्रतिस्पर्धा मात्र भएको नेताहरूले बताएका छन् । प्रतिनिधि छनोट हुन बाँकी जिल्लामध्ये मोरङ– ६ र सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका सीमित निर्वाचन क्षेत्रमा मात्र चुनाव सम्भावना छ ।
कमेन्ट गर्नुहोस्