सिन्धुलीमाढी, कात्तिक २४ गते । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी बुधबार बिहान तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले १३ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।
सदरमुकाम सिन्धुलीमाढीमा निर्माण गरिएको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरणको विषयमा सत्तारुढ गठबन्धन दलहरु र नेकपा एमालेबीच प्रमुख अतिथिको विषयलाई लिएर बिबाद भई तनाव बढेपछि निषेधाज्ञा जारी गरेको उक्त कार्यालयले जनाएको छ ।
शालिक निर्माण गरिएको बाल उद्यानको आसपासमा रहेको स्टल बजार, जुनार चोक, बस पार्क, ग्वाङखोला पुल, हस्पिटल क्षेत्रभित्र कुनै पनि किसिमको सभा, समारोह तथा जुलुस गर्न नपाईने गरी बुधबार बिहान ११ बजेदेखि राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिको सुरक्षामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) ले दिएको अधिकार प्रयोग गरी उक्त क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको पनि उहाँले सुनाउनुभयो ।
स्थानीयका अनुसार कमलामाई नगरपालिकाले शालिक अनाबरण र सिन्धुलीगढी विजय उत्सव मनाउनका लागि नेकपा एमालेका महासचिब ईश्वर पोख्रेललाई प्रमुख अतिथि बनाउने निर्णय गरेपछि गठबन्धनका दलले आपत्ति जनाई अवरोध गरेपछि विवाद सुरु भएको थियो । जस अनुरुप बुधबार बिहान ९ बजे शालिक अनाबरण र बिहान ११ बजे सिन्धुलीगढी बिजय उत्सब उद्घाटनका लागि कार्यक्रम तय गरिएको थियो ।
कार्यक्रममा सहभागि हुन नेकपा एमालेका महासचिव पोख्रेल मङगलबार बेलुका नै सिन्धुलीमाढी आउनु भएको नेकपा एमालेले जनाएको छ । कमलामाइ नगरपालिकाले सङ्घीय तथा प्रदेस सरकारलाई उपेक्षा गर्दै बहालवाला मन्त्री तथा कर्मचारीहरु हुँदाहुदै पूर्व भैसकेको र एमाले महासचिव इश्वर पोखरेलबाट शालिक अनाबरण तथा विजयोत्सवको प्रमुख अतिथि बनाएपछि विवाद भई तनाबग्रस्त बढेको गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का जिल्ला ईन्चार्ज तथा बागमती प्रदेश सांसद लेखनाथ दाहालले जानकारी दिनुभयो ।
शालिक अनावरणकै विषयमा गठबन्धन दलका कार्यकर्ताहरु र नेकपा (एमाले) का कार्यकर्ताहरुको बाक्लो उपस्थिति भएपछि जुनसुकै बेला झडम हुने संभावनाले ठूलो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार तनाब बढेपछि बुधबार विहान गठबन्धन दलका नेताहरु, नेकपा एमालेका नेता र कमलामाई नगरपालिकाका मेयरको उपस्थितिमा बसेको बैठकले शालिक अनाबरण तत्काललाई स्थगित गर्ने र सिन्धुलीगढी बिजय उत्सव नेकपा एमालेका ईश्वर पोख्रेललाई प्रमुख अतिथि बनाएर गर्ने सहमति जुटेको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले निषेधाज्ञा जारी गरिएकाले शालिक अनाबरण रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले अुनुकुल समय हेरेर शालिक अनाबरणको समय तोक्छ ।’
गठबन्धन दल नेपाली काँग्रेसका जिल्ला सचिब कृष्णप्रसाद दाहालले नगरपालिकाले सिन्धुलीगढी बिजय उत्सबका लागि नबोलाएकाले गठबन्धन दलले उक्त कार्यक्रम बहिष्कार गर्ने र नेकपा एमालेले उक्त बिजय उत्सब पार्टीको कार्यक्रम गरेझै गर्ने बताउनुभयो । गठबन्धन दलहरुले विरोध गर्दै बाल उद्यनमा मङगलबारदेखि नै तालाबन्दी गरेका छन् ।
कमेन्ट गर्नुहोस्