काठमाडौं, भदौ १८ गते । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले कानुन व्यवसायी सामाजिक अभियन्ता भएकाले जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए) को तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार भएको पुनर्जागरण कार्यक्रममा स्थायी कमिटी सदस्य नेम्वाङले सो कुरा बताउनुभएको हो ।
स्थायी कमिटी सदस्य नेम्वाङ्ले भन्नुभयो, “संसदीय प्रणालीमा सांसदहरु नै विचलित भए पनि समस्या हुन्छ, त्यो अवस्था अहिले देखिएको छ ।” कानून व्यवसायीले जे हो त्यो वास्तविकता जनतामाझ लग्ने दायित्व रहने गरेकाले विचलित नहुन उहाँल सबैमा आग्रह गर्नुभयो । अलिकति पनि शीर निहुँराउने काम कसैले गर्नु हुँदैन उहाँले भन्नुभयो ।
पार्टीलाई एकतावद्ध बनाउने अभियानमा आफुहरु रहेको चर्चा गर्नुहुँदै स्थायी कमिटी सदस्य नेम्वाङले केन्द्रदेखि वडास्तरसम्म त्यो अभियान पार्टीले चलाइरहेको बताउनुभयो । वकिलहरुको भेलाले सिङ्गो देशलाई एकजुट बनाउन सन्देश दिने उहाँले चर्चा गर्नुभयो । एमालेभित्रको विवादका सन्दर्भमा कार्यदलले तयार गरेको दश बुँदे सहमति नै समस्याको निकास भएको उहाँले बताउनुभयो । विवादलाई पार्टीभित्र छलफल गर्नुको सट्टा सडकमा पु-याएर समस्या आएको उहाँले बताउनुभयो ।
पूर्व कानुनमन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नी खरेलले नेता माधवकुमार नेपालको पक्षमा लाग्नेलाई गाली नगर्न पनि उहाँले आग्रह गर्नुभयो । पार्टी योगदान, क्रियाशीलता, विचार र सिद्धान्तले बन्ने चर्चा गर्नुहुँदै पूर्वमन्त्री खरेलले नेता नेपालको पार्टी नै अवैधानिकढङ्गले गठन भएको बताउनुभयो ।
पूर्व महान्यायाधिवक्ता रमेश बडालले निर्वाचन आयोगले कानुनको प्रतिकुल गएर नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेको टिप्पणी गर्नुभयो । यही प्रकृतिले काम हुँदैगए नेपालको लोकतन्त्र समाप्त हुने पनि उहाँले बताउनुभयो । एमाले नेतृत्वको सरकार विस्थापन भएदेखि मुलुकमा पुनः राजनीतिक अस्थिरता शुरुभएको उहाँले चर्चा गर्नुभयो ।
वरिष्ठ अधिवक्ता महेश नेपालले एमाले शक्तिलाई परास्त गर्नेगरी अन्य सबै शक्ति अहिले एकजुट भएकाले त्यसबाट जुझ्न एमाले एकतावद्ध हुन आवश्यक रहेको बताउनुभयो । संगठनको जिवन्तताका लागि अघि बढ्न उहाँले सबैमा आव्हान गर्नुभयो । संगठन बलियो भएमा मात्र उद्देश्य पूरा हुने उहाँले बताउनुभयो ।
कानुन व्यवसायीको भेलामा अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तय भएको भए पनि अन्तिम समयमा उहाँको उपपिस्थति स्थगित गरिएको थियो । दशबुँदे सहमति कार्यान्वयनको चरणमा रहेकोभन्दै नेता माधवकुमार नेपाल पक्षबाट एमालेमा आउनुभएका नेताहरुको आग्रहमा अध्यक्ष ओली कार्यक्रममा नआउनुभएको बुझिएको छ । तर पूर्व महान्यायाधिवक्ता खरेलले आजको सबै कार्यक्रम स्थगित गरेर अध्यक्ष ओली घरमा आराम गरिरहनुभएको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्