धनगढी, भदौ १७ गते । प्रकृतिको कुचीकार मानिने गिद्धको उपस्थिति सुदूरपश्चिम प्रदेशमा सन्तोषजनक पाइएको छ ।
विभिन्न अध्ययनले यो प्रदेशमा गिद्धको उपस्थिति सन्तोषजनक रुपमा रहेको देखाएको हो । प्रदेशभरि करिब छ/सात सयको हाराहारीमा गिद्ध रहेको गिद्ध संरक्षणमा क्रियाशील चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो ।
‘यो सङ्ख्या सन्तोषजनक हो’, उहाँले भन्नुभयो–‘तर, दार्चुला, बझाङ, बाजुरा, अछाम लगायतका जिल्लामा गिद्ध गणना भएको छैन । त्यहाँ गणना गरिए सङ्ख्या अझ बढ्न सक्छ ।’
सुदूरपश्चिम प्रदेशमा डङ्गर, सानो खैरो, गोब्रे, खैरो, सुनगिद्ध, हिमाली र राजगिद्ध देखिने गरेका छन् । तर, प्रदेशभरि आठ प्रजातिका गिद्ध पाइने गरेको अभिलेख रहेको डङ्गौराले बताउनुभयो । हाल, मुख्य गरेर तीन जिल्लामा गिद्धको बसोबास रहेको पाइएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित बेली, पटेला र गोदावरी नगरपालिकाको खुटिया, अत्तरिया क्षेत्रमा गिद्ध पाइने गरेका छन् । यसैगरी, कञ्चनपुरको पर्सिया, कञ्ज, वनसाह र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गिद्ध पाइन्छन् । यस्तै, बैतडीको खोड्पे, पाटन र झालापानीमा गिद्ध रहेका छन् ।
कञ्चनपुरमा गिद्धको अवस्था राम्रो रहेको पाइएको छ । तर, कैलाली र बैतडीमा भने चुनौती रहेको डङ्गौराले बताउनुभयो । उहाँका अनुसार कैलालीमा गिद्धको उपस्थिति राम्रो भए पनि गुँड घट्दो क्रममा छ । यस्तै, बैतडीमा पनि गिद्धको उपस्थिति राम्रो भए पनि आगलागीले गुँडसहित बच्चा जलेर मर्ने समस्या छ । आगलागीका कारण भीरमा रहेका गुँड जलेर सखाप हुने गरेको छ ।
‘ठ्याक्कै बच्चा उडाउने बेलामा आगो लाग्ने गरेको छ’, चराविद् डङ्गौराले भन्नुभयो । ‘यो ठुलो चुनौतीको रुपमा रहेको छ । गतवर्ष १३ मध्ये नौ गुँड जलेर बच्चा मरे ।’
गिद्धले सिनो खाएर वातावरण प्रदूषित हुनबाट जोगाउने गरेका कारण यो पक्षीलाई प्रकृतिको कुचीकार मानिन्छ । कुनै बेला आकाशमा धेरै देखिने गिद्ध पछिल्लो समय लोप हुँदै गएका छन् । एकाएक गिद्ध लोप हुन थालेपछि समुदायमा संरक्षणसम्बन्धी गतिविधि बढाइएको छ ।
विगतको तुलनामा अहिले समुदायका मानिसमा संरक्षणसम्बन्धी चेतनाको स्तर बढे पनि सचेतना बढाउन अझै आवश्यक रहेको डङ्गौराको ठम्याइ छ । उहाँले स्थानीय सरकारहरुले चासो लिएर संरक्षणका कार्यक्रमलाई अगाडि बढाए अझ राम्रो हुने उल्लेख गर्नुभयो ।
यसैबिच, अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशमा सप्ताहव्यापी रुपमा सचेतना सम्बन्धी कार्यक्रम गरिदैंछ । गिद्ध संरक्षण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कैलाली, कञ्चनपुरको विभिन्न ठाउँमा कार्यक्रम भइरहेको हो । जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, स्थानीयवासी, सरोकारवाला कार्यालय, संघ संस्थाको उपस्थितिमा अन्तरक्रिया, छलफल भइरहेको जनाइएको छ ।
सेप्टेम्बरको पहिलो शनिवार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ । सो दिवसको अवसर पारेर नेपालमा मुलुकभरि गिद्ध गणनाको कार्य पनि हुने गरेको छ ।
कमेन्ट गर्नुहोस्