काठमाडौं, भदौ १७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जयसिंह धामी बेपत्ता भएको महिना दिन बढी समय भैसक्दा समेत सरकारले घटनालाई थामथुम गर्ने प्रयास गरेको आरोप लगाएको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विहिबार विज्ञप्ति प्रकाशित गरी सो आरोप लगाउनुभएको हो । धामी गत साउन १५ गते महाकाली नदी पार गर्नेक्रममा भारतीय सीमा सुरक्षाबलका सुरक्षाकर्मीले तुइँन चुँडाइदिएपछि नदीमा खसेर बेपत्ता हुनुभएको थियो ।
प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “छानबीन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयाशमा लागेको देखिएको छ ।”
सरकारले भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल पनि नगरेको एमालेको आरोप छ । एमालेले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषिलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, “नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा
(एमाले) अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।” सरकारले पीडित परिवारलाई दश लाख रुपियाँ दिने घोषणा गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्