काठमाडौं, भदौ १३ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन हुनुभएको जानकारी दिनुभयो । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको सांसद चौधरीले बताउनुभयो ।
यसैगरी वेदुराम भुसाल राष्ट्रियसभा, संसदीय दलको नेतामा चयन हुनुभएको सांसद चौधरीले बताउनुभयो । बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको उहाँले जानकारी दिनुभयो । एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सभामा सात सांसद छन् । त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । विधान मस्यौदा समितिमा भवानी खापुङ, शेरबहादुर कुवँर, लक्ष्मी चौधरी, निरा जैरु र ठगेन्द्रप्रकाश पुरी रहनुभएको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । सांसद चौधरीका अनुसार बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको जानकारी दिनुभयो । बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो ।
यसै गरी आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्नुहुँदै नेता नेपालले हाल पार्टीको विधान, वैचारिक तथा सांगठनिक स्वरुप सबै निर्वाचन आयोगमा मस्यौदाको रुपमा रहेको र यी सबै मस्यौदाहरुलाई राष्ट्रिय सम्मेलनमार्फत पूर्णता दिइने बताउनुभयो ।
नेकपा एमाले विभाजनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले देशको सिंगा कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने लक्षण देखिएपछि आफूहरुले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी ) पुर्नगठन गर्नुपरेको नेता नेपालले स्पष्ट पार्नुभएको छ । अध्यक्ष नेपाल नेतृत्वको नयाँ पार्टीले आगामी दिनमा कम्युनिस्टहरुको बृहत्तर एकतालाई जोड दिने बताउदै आएपनि तत्कालै भने कुनै पार्टीसँग एकता नहुने भनाइ नेपालको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीमा कम्युनिस्ट सिद्धान्त र लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै युवा पुस्तालाई आकर्षित गर्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्