काठमाडौँ, भदौ ३ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको सपना साकार पार्न अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउनुभएको छ ।
शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बुधबार बोल्दै उहाँले इमानदार कम्युनिस्टहरूको एकता अहिलेको आवश्यकता भएको बताउनुभयो ।
कम्युनिस्ट एकता आजको आवश्यकता रहेको भन्दै अध्यक्ष प्रचण्डले सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गरेर पुनः कम्युनिस्ट एकताको झण्डा उठाउने र कम्युनिस्ट एकता गरिछाड्ने सङ्कल्पबाट पछि हट्न नसकिने बताउनुभयो । नेपालका लागि मात्रै नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले गरेको पार्टी पुनर्निर्माणको सङ्कल्पतर्फ लाग्न निर्देशन दिनुभयो ।
राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिस्कृत गर्ने, महाधिवेशनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको उहाँले बताउनुभयो । शान्ति सम्झौता वा सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको उहाँले बताउनुभयो ।
कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरङ्कुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– “क्रान्तिकारीहरूले सङ्कल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ तर अन्तिम विजय भने होइन ।”
कमेन्ट गर्नुहोस्