काठमाडौं, साउन ३१ गते । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार पुनः शुरू भएकाे छ । हिजो शनिबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनको प्रस्ताव पेश गर्नुभएको थियो । जसमा वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरिएको छ ।
माओवादी केन्द्रको आजको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरुबाट सुझाव सङ्कलन गरिने पार्टीका मुख्य सचेतक देव गुरुङले जानकारी दिनुभएको छ । आज मूलतः राजनीतिक र पार्टीको विधान सम्बन्धमा छलफल एवम् राय, सुझाव सङ्कलन गर्ने काम हुन्छ, गुरुङले बताउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । त्यसका लागि आगामी भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान गर्ने, आगामी असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार आगामी मङ्सिर १५ गते प्रदेश सम्मेलन आयोजना गरिनेछ ।
यसैगरी, आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको विधान संशोधनको प्रस्ताव उपर केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुहुने गुरुङले जानकारी दिनुभएको हो ।
कमेन्ट गर्नुहोस्