काठमाडौै, साउन १४ गते । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी रहेको कामको समेत जिम्मेवारी पूरा गर्न बिहीबारसम्मको समय सीमा दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिलाई पुनः जिम्मेवारी दिइएको हो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले छानबिन समितिलाई बिहीबारसम्म बाँकी रहेको कामसमेत पूरा गर्ने जिम्मेवारी दिइएको जानकारी दिनुभयो । बिहीबार समितिको थप प्रतिवेदन आएपछि केन्द्रीय समितिको बैठक बसी छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदनको स्वामित्व ग्रहण गर्ने र केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन बुझाइने जानकारी उहाँले दिनुभयो । समितिले विभिन्न जिल्लाका विषयमा देखिएको विवादको थप निष्कर्षमा पुगेर सभापतिसमक्ष प्रतिवेदन बुझाउनेछ । समितिले पाँच महिनाभन्दा लामो छानबिनपछि मङ्गलबार आफ्नो प्रतिवेदन सभापति देउवासमक्ष बुझाएको थियो ।
यसका साथै पार्टी पदाधिकारी बैठकले जिम्मेवारी दिएपछि पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. रामशरण महतको सक्रियताले मङ्गलबार राति पार्टी केन्द्रीय कार्यालय सानेपामा एक सातादेखि अनशनरत धनुषाका काँग्रेस नेता डा. चन्द्रमोहन यादवलगायतले अनशन स्थगित गर्नुभएको छ । यी विषयमा समेत छानबिन समितिको अन्तिम प्रतिवेदनमा समेटिने सम्भावना छ । नेता यादवले नेताहरूले क्रियाशीलको विवाद छिट्टै समाधान गर्ने आश्वासनपछि आफूले अनशन स्थगन गरेको जानकारी दिनुभयो । रमेश लेखक संयोजकत्वको छानबिन समितिले आठ लाख ५२ हजार ७११ जना कार्यकर्तालाई क्रियाशील सदस्यता दिने निर्णय गर्दै यससम्बन्धी प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो ।
समितिले विवाद भएका केही जिल्लाको प्रतिवेदन सभापतिलाई बुझाउँदै त्यसको निरुपण गर्ने जिम्मेवारीसमेत नेताहरूलाई नै दिएको छ । धनुषा, सर्लाही, बारा र सप्तरीमा क्रियाशील सदस्यताको विवादको किनारा लगाउने जिम्मेवारी नेताहरूलाई नै दिएको हो । यो विषयमा नेताहरूले नै निर्णय गर्नुपर्ने जिम्मेवारी आएको पार्टीका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
रोकिने सम्भावना
काँग्रेसको साउन १६ गतेका लागि तय गरिएको गाउँपालिका तथा नगरपालिकाको अधिवेशन स्थगित हुने सम्भावना बढेको छ । यसबाट ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्ने कार्यतालिका पर सर्ने देखिएको छ ।
पार्टीको क्रियाशील सदस्यता छानबिन कार्य अझै पूरा हुन नसकेकाले पालिका स्तरको अधिवेशन केही पर सर्ने भएको हो । यसमा पार्टीको औपचारिक निर्णय हुन बाँकी छ । यसअघि काँग्रेसेको पदाधिकारी बैठकले साउन १२ गतेको गाउँ तथा नगरको वडा स्तरको
अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।
यसैबीच पार्टी सभापति देउवाले बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ । क्रियाशील सदस्यता र पार्टी महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टीले आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । पार्टीको तल्लो तहका अधिवेशन पर सारिए पनि केन्द्रीय महाधिवेशनको कार्यतालिका हेरफेर नहुने जनाइएको छ । संवैधानिक हिसाबले पनि भदौ १९ भित्र काँग्रेसको १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता
रहेको छ ।
कमेन्ट गर्नुहोस्