हुम्ला, साउन ५ गते । आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । औषधिको महìव र फाइदा बुझेपछि आयुर्वेदिक उपचार विधितर्फ बिरामीको आकर्षण बढेको हो ।
बाथले थला पर्दै आउनुभएकी सिमकोट गाउँपालिका–५ की लालकला बोहराले रोग निको भएपछि नियमित रूपमा आयुर्वेद शाखामा धाउन थालेको बताउँदै आधुनिक उपचारबाट निको नभएपछि आयुर्वेदिक उपचारमा लागेको बताउनुभयो । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवनले आफ्नो बाथ कम भएको बताउँदै अन्यलाई पनि यो उपचार पद्धतिमा लाग्न सुझाव दिनुभयो ।
पायल्स रोगका बिरामी खार्पुनाथ गाउँपालिका–४ का सौरभ रोकायाले आयुर्वेदिक पद्धतिबाट नियमित उपचार गर्दा रोग निको भएको बताउनुभयो । उहाँले पहिलोपटक आयुर्वेद चिकित्सकसँंग परीक्षण गरी १५ दिनका लागि औषधि लिएर सेवन गर्दा केही राहत अनुभव भएको र हाल पनि औषधि सेवन गरिरहेको बताउनुभयो ।
आयुर्वेदिक चिकित्सक सुदीप कर्णले अस्पतालमा बिरामीको चाप बढेको बताउँदै अस्पतालमा विशेषगरी बाथ, पायल्स, ग्यास्टिक, महिलाको सेतो पानी बग्ने, सुत्केरी भएपछि दूध नआउने, उच्च रक्तचाप, कमलपित्त, पिसाब पोल्ने, रुघाखोकी, रिङ्गटा लाग्नेलगायतका बिरामी आउने गरेको जानकारी दिनुभयो ।
तीन दिन पैदल हिँडेर उपचार गराउन आउने बिरामी पनि छन् । आयुर्वेदिक उपचारमा प्रतिकूल प्रभाव नपर्ने भन्ने मान्यता गलत भएको बताउँदै उहाँले चिकित्सकको सुझाव सल्लाहविपरीत औषधि सेवन गरे त्यसको गलत असर पर्ने बताउनुभयो ।
आयुर्वेद शाखाका कविराज कृष्णचन्द्र जोशीले स्वास्थ्यकर्मी गाउँगाउँमा पुगेर शिविर सञ्चालन गर्नु र यसको महìव सेवाग्राहीलाई बुझाउँदै जाँदा आकर्षण बढेको बताउनुभयो । हाल शाखाले विभिन्न रोगका ३२ प्रकारमा आयुर्वेदका औषधि निःशुल्क रूपमा वितरण गरेको र उपचारमा आर्थिक भार कम भएकाले बिरामीलाई उपचारमा सहज भएको जानकारी उहाँले बताउनुभयो ।
यो वर्ष मात्र शाखाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक सेवा, पूर्वकर्म, पञ्चकर्म सेवा, गाउँघर क्लिनिक र स्वास्थ्य शिविर गरी सात हजार ८४५ जनाले उपचार गराएका छन् । गत वर्ष यस पद्धतिबाट उपचार गर्नेको सङ्ख्या पाँच हजार १८ थियो । जिल्लाका छ प्रकारका जडीबुटी पाखनवेद, कुटकी, उत्तिस, लालीगुराँसको बोक्रा, जटामसीलगायतलाई मेसिनमा प्रशोधन गरेर धुलो औषधि तयार पारी बिरामीलाई वितरण गर्ने गरिएको छ ।
कमेन्ट गर्नुहोस्