काठमाडौं, साउन २ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आन्तरिक विवाद समाधान गर्ने विषयमा स्थायी कमिटीका केही सदस्यहरुको अनौपचारिक बैठक सिंहदरवारमा भइरहेको छ । नेता माधवकुमार नेपाल पक्षका सदस्यहरु शुक्रबारको स्थायी कमिटी र संसदीय दलको बैठकमा अनुपस्थित रहनु भएपछि सो विषयमा छलफल गर्न केही नेताहरुबीच अनौपचरिक छलफल भइरहेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
बैठकबारेमा विघटित कार्यदलका सदस्यहरुको छलफल भइरहेको समाचार बाहिर आएपनि स्थायी कमिटी सदस्य नेम्वाङले एमाले स्थायी कमिटीका सदस्यहरुको अनौपचारिक छलफल मात्र भइरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । नेता नेपाल पक्षका २३ जना सांसदहरुको हस्ताक्षरका कारण सर्वोच्चले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
एमाले पार्टी भित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी नेपाल पक्षले गरिरहेका बेला एमाले भित्र आन्तरिक विवाद कायमै रहकेो बुझिएको छ । नेता नेपाल पक्षले विश्वासको मत नदिएमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन सक्नु हुनेछैन ।
सो विषयमा एमालेका स्थायी कमिटी सदस्यहरुले आन्तरिक छलफल गर्दै नेता नेपाल पक्षलाई पार्टी एकतामा कसरी ल्याउनेबारेमा गृहकार्य गरिरहनुभएको छ । विघटित कार्यदलका नेता नेपाल पक्षका सदस्यहरुले पनि पार्टी एकताका लागि थप छलफलको आवश्यकता रहेको बताउनुभएको छ । एमाले स्थायी कमिटीले शुक्रबार कार्यदललाई विघटन गर्ने निर्णय गरेको थियो ।
सिंहदरवारस्थित एमाले संसदीयदलको कार्यालयमा जारी अनौपचारिक छलफलमा नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरु सहभागी रहनुभएको बुझिएको छ । उता अध्यक्ष केपी शर्मा ओली निवासमा जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरसहित केही नेताहरु यसअघिको सरकारी गठबन्धनलाई कायमै राख्ने मनसायसाथ ओलीसँग परामर्श गर्नुभएको एमाले स्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्