तनहुँ, असार २९ गते ।
भर्जन्म घाँसतिर मन् दिई धन् कमायो,
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन आज यस्तो ।।
उपरोक्त पङ्क्ति आदिकवि भानुभक्त आचार्यको ‘घाँसी’ कविताका हुन् । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि भानुभक्तले प्रेरणा पाई घाँसीकुवामा नै बसेर सो कविता लेख्नु भएको थियो । भानुभक्तलाई आदिकवि बनाउने यही प्रेरणास्थल ‘‘घाँसीकुवा’’ को अस्तित्व हाल जोखिममा परेको छ ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले संरक्षण गर्नु पर्ने भए पनि त्यसतर्फ कसैको ध्यान गएको छैन । सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने अवस्था आउने हुँदा संरक्षणको लागि बेलैमा चासो राख्नु पर्ने माग स्थानीयको छ । गाडीको चाप बढेको पृथ्वी राजमार्ग फराकिलो बनाउनुपरेको तर कुवाको अस्तित्व नामेट नगरी फराकिलो बनाउनुपर्ने व्यास नगरपालिका–११, पोल्याङ, घाँसीकुवा निवासी भोजराज पन्थले भन्नुभयो । परम्परागत जिजुबाजे देखि जोगाउँदै आएको हो पन्थले भन्नुभयो, हामीले बनाएको हो भत्काउन दिनुहुँदैन’’ । पुरानो गरी राखेको संरक्षणमा ध्यान दिनुपर्छ, परम्परा संस्कृति हो जोगाउनु प¥यो नेताहरुले बुझेर कुवा बचाउनतिर लाग्नु पर्ने उहाँ बताउनुहुन्छ । भानुभक्त ससुराली घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीकुवा व्यास नगरपालिका–१२ मा छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ ।
व्यास नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तोत्र कुँवर घाँसीकुवा र पार्क जसरी पनि बचाउनुपर्ने बताउनुहुन्छ । ‘‘पृथ्वी राजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत रहेको स्थानलाई मात्रै फराकिलो बनाउने तथा बुल्दी खोलाको किनारको भागलाई उठाएर सम्म बनाए मात्रै संरक्षण गर्न सकिन्छ’’ वडाध्यक्ष कुँवरले भन्नुभयो । उक्त स्थानमा सुरुङ मार्ग बनाएर भए पनि कुवाको संरक्षण गरिनु पर्ने वडाध्यक्ष कुँवर बताउनुहुन्छ । घाँसीलाई घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नुभएको थियो । कुवा पारी पट्टी पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती रहेको र कुवाको नजिकको बस्ती भएकाले पन्थ नै घाँसी भएको अनुमान गरिएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराई बताउनुहुन्छ । पन्थहरुको खोला नाला डिही र पाखो भएकोले पन्थ नै घाँसी भएको दाबी उहाँको छ ।
घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएको छ । घाँसीको नाममा पालिका राख्नुपर्नेमा कसैको ध्यान नगएकोले घाँसीको अस्तित्व जोखिममा परेको गुनासो कुवा बनाएर नयाँ घाँसीको रुपमा परिचय कमाउनुभएका भानु नगरपालिका–२ अम्बोटका यदुनाथ न्यौपानेले गर्नुभयो । भानुलाई प्रेरणा दिएकाले घाँसी गुरु हुन्, बुल्दीखोला सेरोफेरोमात्रै सीमित नगरी घाँसीको काम प्रकृतिसँग जोडिएकोले फराकिलो बनाउनुपर्ने बताउनुभयो । कुवा नरहे भानुभक्तको पहिचानलाई असर पर्ने तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने सोही ठाउँ निवासी लीलावती पन्थले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्