काठमाडौं, असार १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आउने सातासम्म राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । सम्बोधनका लागि संघीय संसद सचिवालयले आवश्यक तयारी थालेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो । यस आर्थिक वर्षको नीति तथा कार्यक्रम अध्यादेशमार्फत् आएपछि राष्ट्रपतिले संसदमा सम्बोधन गर्न पाउनुभएन । लामो समय संसदमा सम्बोधनको अवसर प्राप्त नभएपछि राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा बैठकमार्फत् सम्बोधनको तयारी गर्नुभएको संसद सचिवालयले जनाएको छ ।
संविधानको धारा ९५ को उपधारा १ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नसक्ने प्रावधान छ । उपदफा १ मा लेखिएको छ, “राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।” अहिले प्रतिनिधिसभा विघटित अवस्थामा छ ।
राष्ट्रिय सभाका सचिव फुँयालले भन्नुभयो, “राष्ट्रपतिज्यूले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने कुरा सही हो, त्यसको तयारी थालिएको छ तर मिति तय भइसकेको छैन, सम्भवतः आउने साता उहाँले सम्बोधन गर्नुहुनेछ ।” राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बिहीबार विहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सो कुराको जानकारी सदस्यहरुलाई गराउनुभएको थियो ।
कमेन्ट गर्नुहोस्