काठमाडौँ — पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिमाथि छलफलका लागि विपक्षी गठबन्धनको बैठक बस्दैछ । माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार अपरान्ह पाँच बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । उनले बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।
बुधबारबाट नै प्रतिनिधिसभा विघटनविरुद्ध र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्नुपर्ने रिटमाथिको नियमित सुनुवाइ सुरु भएको छ । यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीका कदमका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको भन्दै संयुक्तरुपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको गठबन्धनले बताएको छ ।
मंगलबार मात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए । त्यसको अर्को दिन गठबन्धनको बैठक बस्न लागेको हो ।
गठबन्धनका नेताहरुले विज्ञप्तीमा स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको दाबीसमेत गरेका थिए ।
विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल समूह, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह एवं जनमोर्चा सहभागी छन् ।
कमेन्ट गर्नुहोस्