काठमाडौँ: सरकार गठनका लागि परेका दुबै दाबी राष्ट्रपतिबाट खारेज भएपछि विभिन्न राजनीतिज्ञहरुले टिप्पणी गरेका छन्।
धेरैले राष्ट्रपतिको मध्यरातको कदमको विरोध गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी खारेज गरिदिएपछि विभिन्न नेताहरुले आपत्ति जनाएका हुन्।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिको कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। 'आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ', उनले ट्वीटरमा भनेका छन्, 'संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।'
त्यस्तै नेपाली कांग्रेसका अर्का नेता रमेश लेखकले राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीमा परेका दाबी खारेज गरेकै केही मिनेटमै यस्तो टिप्पणी गरे।
राष्ट्रपति भण्डारीबाट लोकतन्त्रको संरक्षण नहुने पनि आरोप लगाए। ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन। यिनीबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन’ नेता लेखकले भनेका छन्।
माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपतिको कदमलाई ‘मध्यरातमा डकैती गरेको’संज्ञा दिएका छन्। उनले ट्वीटरमा लेखेका छन् ‘मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’
संविधानको धारा ७६(५) अनुसार केपी शर्मा ओली र शेरबाहादुर देउवाले गरेको दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिदिएकी छन्।
राष्ट्रपतिको उक्त निर्णयसँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बसेको छ। स्रोतका अनुसार मन्त्रिपरिषदको यही बैठकले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार साँझ सरकार गठनका लागि आआफ्नो दाबी राष्ट्रपति समक्ष पेश गरेका थिए।
राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार शुक्रबार वैकल्पिक सरकारको दाबी प्रस्तुत गर्न दिएको समय सीमाभित्र प्रधानमन्त्री ओलीले १५३ सांसदको हस्ताक्षर सहितको दाबी पेश गरेका थिए भने कांग्रेसका सभापति देउवाले भने १४९ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए।
कमेन्ट गर्नुहोस्