काठमाडौँ — सरकार गठनबारे छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।
बिहीबार ११ बजेपछि दुवै नेता देउवा निवास पुगेका कांग्रेसका एक नेताले जानकारी दिए । 'सरकार गठनबारे ठाकुर र महतो आउनुभएको छ । सभापतिसँग उहाँहरूले छलफल गरिरहनुभएको छ,' कांग्रेसका नेताले बताए ।
सरकार गठनबारे कसरी अगाडि बढ्ने, सत्ता साझेदारी गर्न/नगर्नेबारे देउवाले जसपाका नेताहरूलाई छलफल गर्न बोलाएको जसपाका नेताहरूले बताएका छन् । देउवाले बोलाएकाले ठाकुर र महतो गएको उनीहरूनिकट व्यक्तिले बताएका छन् ।
देउवालाई भेटेर फर्किएपछि ठाकुरले सांसद र कार्यकारिणी समितिका सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।
ठाकुरले देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्न नसकिने बताउँदै आएका छन् । बिहीबार साँझ ९ बजेसम्म राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको लागि बहुमत जुटाएर आउन समय दिएको अवस्थामा यो भेटलाई महत्वका साथ हेरिएको छ ।
कमेन्ट गर्नुहोस्