बेइजिङ: चीनले अन्तरिक्षमा पठाएको रकेटको ठूलो अंश फेरि पृथ्वीमै फर्किएर हिन्द महासागरमा खसेको छ ।
केही घण्टादेखि नै उक्त रकेट असन्तुलित भइ पृथ्वीकै सतहमा खस्ने क्रममा थियो । र त्यसबारे अमेरिका लगायत विभिन्न देशले चिन्ता गरेका थिए । खस्दै गरेको रकेटले पृथ्वीमा असर गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिए पनि चीनको विदेश मन्त्रालयले भने उक्त रकेटको अंश पृथ्वीमा आइपुग्दा असर नगर्ने दावी गरेको थियो ।
लङ मार्च ५ बी नामको उक्त रकेट आइतबार पृथ्वीमा खसेको हो । यस विषयलाई लिएर नासा सहित अमेरिकी विज्ञहरुले चीनको लापरवाही र गैरजिम्मेवारीपन भन्दै आपत्ति जनाएको छ ।
उक्त रकेट खस्दा सम्भावित खतराप्रति विभिन्न पक्षबाट आलोचना गरिएको थियो । चीनका अनुसार उक्त रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको हो । मानव रहित क्षेत्रमा खसेकाले पनि यसको असर नपरेको चिनियाँ पक्षको भनाइ छ ।
गत वर्ष चीनले पठाएको अर्को लङ मार्च रकेटका टुक्रा पनि आइभरी कोस्टका गाउँमा खसेका थिए । जसले गर्दा केही संरचनागत क्षति भए पनि मानवीय क्षति भएको थिएन ।
हार्बर्ड विश्वविद्यालयका खगोलशास्त्री जोनाथन म्याड्वेलका अनुसार आइतबार पृथ्वीमा खसेको रकेट असन्तुलित भइ पृथ्वीमा खसेको चौथो ठूलो वस्तु हो ।
गत साता नै जब रकेट पृथ्वीतर्फ नै खसिरहेको थियो, यसबारे अमेरिकी विज्ञहरुले चीनले लापरवाही गरिरहेको भन्दै आलोचना गरेका थिए । र यसबाट क्षति न्युनिकरण गर्नुपर्ने भन्दै चीनलाई दबाब समेत दिइएको थियो । चीनले विभिन्न असफलताका बावजुद अन्तरिक्ष अन्वेषणमा अर्बौँ डलर रकम खर्च गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्