काठमाडौं, वैशाख १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै परम्परागत ढङ्गबाट हुने सरकारी सेवाहरु प्रविधिमैत्री बनाउदै अगाडि लैजानुपर्ने बताउनुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मन्त्री गुरुङले देशैभरका सबै स्थानीय तहमा सञ्चार तथा प्रविधिको विस्तार गर्ने ढंगबाट सरकारको काम अगाडि बढेको बताउनुभएको हो । समृद्ध नेपाल, सुखी नेपालीको आधार, सूचना, सञ्चार तथा प्रविधिको विस्तार भन्ने नाराका साथ सञ्चार तथा प्रविधि क्षेत्रमा सरकारको काम अगाडि बढ्नुपर्ने बताउदै गुरुङले अब नागरिकले घण्टौंसम्म लाइन बसेर सरकारी सेवा लिने होइन, अनलाइनबाट पेपरलेस र फेसलेस प्रविधिबाट लिनुपर्ने बताउनुभएको हो ।
मन्त्री गुरुङले देशको विकास तथा पूर्वाधार निर्माणको काम पनि प्रविधिमैत्री ढंगबाट अगाडि बढाउने र सञ्चार, सूचना तथा प्रविधि क्षेत्रको विस्तार, विकास तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशिका तयार भएको पनि बताउनुभयो । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको समयमा सञ्चार तथा प्रविधिले महत्वपूर्ण भूमिका खेलेको बताउदै उहाँले शिक्षा तथा स्वास्थ्य जस्ता नागरिकका आधारभूत आवश्यकता पूर्तिका लागि पनि सरकारले स्थानीय तह तथा प्रदेशस्तरमा विभिन्न कार्यक्रमहरु अगाडि बढाएको छ । विशेषगरी, शिक्षा क्षेत्रमा सबै स्थानीय तहमा सूचना प्रविधिको निर्माण र प्रदेशस्तरमा स्मार्ट स्कूलको अवधारण तथा निर्माणको काम अगाडि बढेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको एक तथ्यांक अनुसार वि.सं. २०७७ सम्म आइपुग्दा ८४ प्रतिशतभन्दा बढीमा इन्टरनेटको पहुँच विस्तार भएको छ, देशैका ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भइसकेको र फाइभजीका लागि परीक्षण भइरहेको छ ।
कमेन्ट गर्नुहोस्