अस्ट्रेलिया — अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन् । प्रधानमन्त्री मरिसनले विक्रम संवत्को नयाँ वर्षलाई विश्वभरि रहेका नेपालीले सामूहिक उत्सव मनाउने क्षणका रूपमा चित्रित गरेका छन् ।
नयाँ वर्षको अघिल्लो दिन एक प्रेस विज्ञप्तिमार्फत मरिसनले दिएको शुभकामनालाई अस्ट्रेलियामा बढ्दै गएको नेपाली समुदायको प्रभाव र उपस्थितिले महत्त्वपूर्ण स्थान पाएको रूपमा अर्थ्याइएको छ । नेपाली समुदायले अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउन निरन्तर योगदान दिइरहेको जनाउँदै मरिसनले नेपालीले मनाउने नयाँ वर्षले सबैलाई खुसी दिने बताए ।
कोरोना भाइरसको महामारीका बेला अस्ट्रेलियास्थित बहुसांस्कृतिक समुदायले नेतृत्वदायी भूमिका निर्बाह गरेको स्मरण गर्दै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियालाई आफ्नो घर सम्झने नेपालीको पनि महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । ‘नयाँ वर्ष विगतलाई मूल्यांकन गर्ने र भविष्यका लागि आशावादी हुने अवसर भएको’ मरिसनको भनाइ छ । प्रधानमन्त्री मरिसनले यस पटक नयाँ वर्षका औपचारिक उत्सव अन्य वर्षका तुलनामा केही फिका हुने भए पनि आगामी दिनमा स्थिति सहज बन्ने विश्वास व्यक्त गरे । उनले अस्ट्रेलियामा रहेका नेपाली मात्र नभई विश्वभरका सबै नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको महामारी सबै मिलेर अन्त्य गर्दै उज्ज्वल भविष्य निर्माण गर्नुपर्ने उल्लेख गरे ।
अस्ट्रेलियाको मन्त्रीस्तरीय सल्लाहकार समितिको सदस्यका रूपमा काम गरेका नेपाली महेन्द्र लम्साल प्रधानमन्त्री मरिसनको शुभकामना अस्ट्रेलियामा बढ्दै गएको नेपाली जनसंख्या र उनीहरूले पुर्याएको योगदानको कदरस्वरूप आएको दाबी गर्छन् ।
कमेन्ट गर्नुहोस्